I'll Be With You - Nepali Poem


Ashok Sampang Rai(Ekalabya)

February 8, 2010 at 7:05 pm  


तिम्रो साथ हुनेछु 

 

माया,

समयको हुरीले उडाई दिदा

म तिमीबाट टाढा हुन्छु होला

तिम्रो भावना बुझ्न खोज्दा खोज्दै

तिम्रा रहरहरु चुम्न सक्दिन होला

त्यसैले माया,

तिम्रो घरको गल्ली हुदै जाने

हरेक स्कुले शिशुलाई

बोलाएर हात हल्लाई दिनु

तिनीहरु तिमीतिर फर्किएर

अबोध मुस्कान छोड्ने छन्

कतै रिसाएको पायौ भने

हँसाएर खुसीपारी पठाई दिनु

म ती शिशुहरुसँगै मुस्कुराएको हुनेछु ।

 

माया,

मनमा छट्पट्टी लाग्यो भने

साँझमा कहीलेकही आकाशतिर हेरी दिनु

त्यहाँ चन्द्रमा देख्यौ भने

मनका साह्रा गुनासाहरु पोखी दिनु

गाँठो परेको रहरका

ती पोका पन्तराहरु सबै

पटुकी फुकाए झै

मेरो अघाडी फुकाई दिनु

म ताराहरुसँगै आकाशमा चन्द्रमाबाट

तिमीलाई चियाईरहेको हुनेछु

तिम्रो अन्तर्दह सुनिरहेको हुनेछु

तिम्रो आँसुसँगै

सितको थोपा बनी मेरो आँसु

धर्तीमा तप्कनेछ

अनि तिमी ती सितको थोपा संगाली

आफ्नो मनको वेगलाई त्यसैमा अडाई दिनु ।

 

यता सुन न ! माया,

त्यो माथ्लोघरे कान्छा र पल्लोघरे साइलाको

युगन्तकारी सँघर्ष अविरल बहन्छ भन्थे

कहाँ पुगयो कुन्नी?

भेट्यौ भने मेरो खबर सुनाई दिनु

म क्षितिज पारीबाट

हावासँगै आशाको छल्को पठाई दिउला

अभावमा हताश नहुनु भनी दिनु ।

 

अँ! तिम्रो साथी;

त्यो कालीको सहयोग बिर्सेको छैन

उनलाई मेरो सम्झना सुनाई दिनु

कसैसँग माया एकचोटी हुन्छ; छानी छानी लाइन्दैन,

उनलाई श्री नचडाई बुझाई दिनु ।

त्यो पाठशालामा सँगै पढ्दा

हामीले चक्चक गरेको

त्यो दिदीबहिनी डाँडा सँगै चडेको

अहँ! बिर्सेको छैन;

कसैगरी साथीहरुलाई सुनाई दिनु ।

विश्वबन्धुत्वाको मन्त्र फैलाउदै गर्दा

मित्रहरु बिच नै दुष्मनी राम्रो होइन

थाहा होला, हाम्रो कार्बारी दाईलाई

तै पनि व्यवहारित्त बुझाई दिनु।

प्रतिशोधको भावनाले

व्यत्तिगत प्रगति त हुन्छ नै

तर मित्रता टुट्छ,

प्रेम–सदभाव निमिटन्न हुन्छ

तिम्रो मामालाको कान्छालाई

कसरी हुन्छ, यथार्थ बुझाई दिनु।

लाटो–सोजो गाउँले भेटियो भन्दैमा

ओराली लागेको मृगलाई झै नखेद्न

साहुका ती मान्छेहरु;

माइते, सेरे, धुर्मुसे” सबैलाई

पँधेरीमा तिम्लाई जिस्कायो भने

म छु, नडराई चेतावनी दिनु

मुर्ख मान्छेको लाटो रिस थाम्न गाह्रो हुन्छ

ताल परे, आफ्नो चन्डेश्वरी रुप पनि देखाई दिनु ।

 

साँच्चै! माया,

म टाढा हुदा तिम्रो माया अझ कति लाग्छ होला

म नहुदा तिमीलाई पनि सहिनसक्नु हुन्छ होला

त्यसैले माया,

बिहानीको किरणले अन्धकार चिर्दै

प्रकाश फिजाए झै

तिमी पनि आँसु पुछी हाँसी दिनु

तिम्रो आँगनमा चारो खोज्दै आएको

उदास पन्छी त्यो म हुनसक्छु

आवेगमा आई कहिल्यै नधपाई दिनु ।

आफुलाई भुलाउन तिमी

कालिगड झै सृजनशिल बन्यौ भने

म तिम्रो हरेक सृजनामा हुनेछु ।

थाहा छ माया ?

तिम्रो हरेक खुसीहरुमा, हाँसोहरुमा

म सधैँ रमाएको हुनेछु।

अनि तिम्रो हरेक प्राप्तीहरुमा

तिम्रो प्रगतिका पाइलाहरु मुन्तिर

मेरा पाइलाहरु हुनेछ । 

 

माया,

मन्डलेहरुलाई लोकतन्त्रमा

भाईचारा, प्रेम र सहिष्णुताको पाठ पढाउनुछ

त्यसैले मैले टाढा गएर पनि फर्कनुछ,

सायद म बद्लिएरै आउछु होला

साथमा हतियार 'कलम' भिरेरै आउछु होला ।

त्यो हाम्रो पाखाभरी 'चेतना' छर्न मन लागेकोछ

सायद समयले साथ दिए

'सभ्यताको नयाँ फुल'

गाउँमै फुलाउने छु, त्यती बेल साथ नछोड्नु है माया।

 

माया,

तिम्रो साथ म नभएर के भो र ?

मलाई बिर्सेनौ भने

मेरा संझानाहरु तिमीसँगै हुनेछन्

मेरा सपनाहरु तिम्रो जीवनको साहरा हुनेछन् ।

अनि माया,

तिम्ले साथीहरुसँग गरेको त्यो मेरो प्रशँसा

म बिर्सन सक्छु होला र ?

तिमीहरु मिलेर मेरै बढाईचढाई त गर्थियौ, है'न र ?

मलाई थाहा छ,

तिम्रो बाध्यता, विवशता र कम्जोरी

त्यसैले माया,

तिम्रो आफन्ता, साथीभाईलाई खुसी पारीराख्नु

उनीहरुको खुसी नै मेरो खुसी हुनेछ।

मन वशमा लिई बुझ्ने कोशिष गर्यौ भने

म उनीहरु बिच नै तिम्रो साथ हुनेछु।

वस् ! आफुलाई सम्हाली राख्नु।

संका हटाई विश्वास बँचाई राख्यौ भने

म हरपल तिम्रो साथ हुनेछु ।

       उही तिमो साथी, एकलब्य


Comments

Popular Posts