Kabi Yakkha's Understanding about Bhutanese Refugee - in Nepali
गत हप्ता पत्रिकाको दैनिकी छुटाएर लागियो खुदुनाबारी । शरणार्थी शिविरहरु मध्ये साहित्यिक तथा सांस्कृतिक गतिविधिका हिसाबले खुदुनाबारी अहिले विभिन्न छ ओटा शिविरहरुमध्येकै अग्रणी मान्न सकिन्छ यो कुरा हामीले कसैलाई सर्काउनैका लगि भन्ने भन्दा पनि वस्तुगत र वास्तविकताका आधारमा भन्ने कुरा हो । यसो भनिरहँदा अन्य शिविरहरुमा गतिविधि हुँदैहुन्नन् भन्ने मान्यता मेरो होइन । शरणार्थी शिविरहरु भित्र पुग्दा लाग्छ नेपाली कला साहित्य संस्कृति र नेपालीपनका लागि बाँचेका मान्छेहरु त्यहाँ बसेका छन् कष्टपूर्ण जीवन र दैनिकी भोग्दै ।
नागरिकता र राष्ट्रिय परिचयका हिसाबले उनीहरुलाई शरणार्थीको बिल्ला भिराइएको छ । व्यवहारका हिसाबले अनागरिकको व्यवहार गरिएको छ र मूल्याँकनका हिसाबले उनीहरुलाई नजरअन्दाज गरिएको छ । सोझो भाषामा भन्दा उनीहरुले भोगिरहेका सम्पूर्ण अपमानलाई निधारमा परिचय टाँसेर हामी देश भएका नागरिकता भएका र परिचय भएकाहरु गमक्क बाँचेका छौँ तर हाम्रो नेपालीपन त उनीहरुसँग पो रमाएको छ । हामीसँग त वस् अहंकार अपमान र स्वार्थ मात्र बाँचेको छ । यो यथार्थसँग म अनि हामी पूर्वेली केही साहित्यका विद्यार्थीहरु जानकार छौँ । यसर्थ पनि हामी नेपालीपनको अध्ययन र अनुभूतिका लागि समय-समयमा सानो भुटान र त्यहाँका विविध गतिविधि बुझ्न जाने गरेका छौँ । दार्जिलिङ सिक्किम लगायतका नेपाली बस्ती पनि हामी पुग्छौँ कारण नेपालीपनको खोजी र प्राप्ति त्यहाँ सम्भव छ । यसर्थ मनमनै प्रश्न उठ्छ यदाकदा कि नेपालमा मुलुक मात्रै राष्ट्रियता संस्कृति भाषा कला साहित्य नेपालीपन आदि त मेची र महाकाली भन्दा बाहिर पो छ कि ! तसर्थ यस समय म देश खोजिरहेको छु । देश र राष्ट्रियताका सम्बन्धमा बनाइएका र स्वीकारिएका परिभाषाहरुमा मेरो असहमति रहिआएको छ । हामी जहाँसम्म नेपाली मन नेपाली संस्कृति नेपाली भाषा साहित्य कला र नेपालप्रतिको सदभाव पुगेको छ नेपाल त्यहाँसम्म छ भन्छौँ तर परिभाषाका नाइकेहरु भौगोलिक सीमानाको मेची-कालीलाई मात्र नेपाल र त्यहाँ भित्र नेपाल र नेपालीप्रति माया गर्नै नजानी बाँचेका हामीहरु मात्र नेपाली हौँ भन्छन् ।
प्रसङ्ग भुटान भ्रमणको हो । अथवा भुटानले बेघर र नागरिकता खोसेर करिब १९ वर्षअघि देशबाट जवरजस्ती लखेटेका र भारतले आपुनो सीमाना कटाएर नेपालको पूर्वी भागमा खलपत्र छाडेका नेपाली भाषी भुटानीहरुको कारुणीक बस्तीमा रमेका केही तिता-मिठा क्षणहरुका सम्बन्धमा सकभर इमान्दार भएर यो बसाईको औचित्य पूरा गर्न लाग्दै छु -
भुटानी शरणार्थी युवाहरुको समग्र विकासका लागि कारितास नेपाल दातृ संस्थाले विभिन्न सहयोग तथा समन्वय गरेको छ । युवा मैत्री केन्द्र नामक संस्था प्रत्येक शिविरहरुमा स्थापना भएका छन् । जसले युवा वर्गलाई आवश्यक क्षमता विकास सीप विकास लगायतका विविध कार्य गर्ने गरेको छ । युवा मैत्री केन्द्रलाई मुख्य सहयोग गर्ने निकायहरु कारितास लगायत अरु पनि छन् । यस पटक पनि यस्तै एउटा अवसर जुटेको थियो जसले गर्दा खुदुनाबारीसम्मको यात्रा तय भयो ।
दाइ प्रकाश आङदेम्बे र भाइ अशोक बस्नेतको साथमा हामी कारितासको सवारी सुविधा उपयोग गरेर छिर्यौँ भुटान । आधारभूत उद्घोषण सम्बन्धी एक हप्ते तालिमका बीच यो छैटौँ दिन थियो जहाँ हमीलाई प्रशिक्षार्थीहरुसँग अनुभव साटासाट गर्नका लागि निमन्त्रणा गरिएको थियो । प्रशिक्षण कक्षा चलिरहेको थियो । निरन्तर ५ दिनसम्म सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्यास गरिरहेका थिए प्रशिक्षार्थीहरु । आयोजकले मलाई मध्यान्न पछिको समय दिएको थियो प्रस्तुतीका लागि जसलाई मैले आपुनो तर्फबाट सक्दो प्रयत्न गरेँ सफल पार्न । प्रशिक्षार्थीहरुलाई कसरी नयाँ र प्रभावकारी शैलीबाट आपुना कुरा बुझाउने भन्ने चिन्तनबाट प्रेरित भएर मैले विभिन्न शिविरहरुबाट त्यहाँ सहभागी भएका ४५ जना प्रशिक्षार्थीहरुसँग करिब ४ घण्टा समय अन्तरकि्रया र बहसमा बिताएँ । त्यसपछि क्रमशः भाइ अशोक र दाइ प्रकाशको पालो आयो । अरुहरुको विशेषतामा मलाई उस्तो केही टिप्पणी गर्नु छैन मेरो स्वतन्त्र बुझाईमा भने त्यहाँ मैले आपुना अनुभवहरुलाई मात्र सुनाएँ । यसर्थ कोही प्रशिक्षार्थीहरुले मबाट कुनै फरक कुरा सिक्न चाहेका भए मैले त्यो दिन नसकेकोमा म क्षमाप्रार्थी छु ।
त्यही साँझ रमाइलो र सुमधुर सांस्कृतिक कार्यक्रम भयो । जो बिल्कुल मैनबत्तीको उज्यालोमा सम्पन्न गरिएको थियो । शरणार्थी छाप्रोहरुमा सुशुप्त हुर्किरहेका प्रतिभाहरुलाई देख्दा नेपाली संस्कृतिप्रति जीवनमै पहिलो पटक आशा पलाएको मेरो सुखद् अनुभूति र दुःखद् कल्पना एकैसाथ प्रष्फुटित भयो । रमाइलो त्यो अन्तरङ्गमा कविताका हस्ती भुटानी कवि जितेन मुस्कान सुब्बा भाइ नवीन प्राचीनलगायत थुप्रै साथीहरुका माझ मैले आपुना केही रुबाइ कोशोली प्रस्तुत गरेको थिएँ । कार्यक्रममा स्थानीय सुरक्षा प्रशासनका प्रमुख शिविर व्यवस्थापन समितिका सचिवलगायत आदरणीय व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । करिब सन्ध्या समयबाट प्रारम्भ भएर मध्यरातसम्म चलेको उक्त मैनबत्ती साँझ आफैमा रोमााचक र उत्तिकै यादगार पनि थियो । मनोक्रान्ति मिनी म्याटि्रक्सको सभाहलमा सम्पन्न उक्त कार्यक्रम एउटा संघार टेकेर युगान्तर स्मृति बन्दै थियो हामी सबैका लागि । किनकि त्यो रमाइलो रातको कार्यक्रममा सहभागी मध्येका धेरै शरणार्थी युवाहरु लगत्तै पूनर्वास कार्यक्रम अन्तरगत अमेरिका लगायत विभिन्न मुलुकमा स्थानतरण हुँदै छन् । खुदुनाबारीका बलराम सिन्चुरी, फुर्वा तामाङ, अाजना राई, जुनु सुब्बा, पेम्बा डोमा तामाङ, यी लोभलाग्दा प्रतिभाहरु केही दिनमै भुटानको अतृप्त तिस्रना बोकेर नेपालको स्वणीम स्मृति बोकेर पुग्दै छन् कहाँकहाँसम्म । त्यस्तै अन्य विभिन्न शिविरहरुबाट त्यहाँ सहभागी भएका युवा पुस्ता पनि मुटु भरी भुटान फिर्ने अपुरो इच्छा र नेपालमा लामो समय भोगेका सुखद् र दुःखद् अनुभूतिहरु सँगाल्दै फेरि भेट नहुने दूर क्षितिजको यात्रामा तम्तयार भएका छन् ।
सम्झँदा लाग्छ उनीहरु जाने बाटो नै छेकुँ । तर वास्तविकता र कल्पना फरक कुरा रहेछ । शिविरहरु भित्र अन्योलको भविष्य बाँचिरहेका यी युवाहरुलाई अवसर र आत्मसम्मान सहितको नयाँ जीवनको बिहानी कोरल्नु पनि त छ । हामीले उनीहरुलाई नेपालीपन र नेपाली संस्कृति कला साहित्यका लागि मरिमेटेको कदर स्वरुप यो भन्दा अर्कौ उपहार पनि त दिन सकेनौँ । बरु भारतको बिहार लगायत अन्य प्रान्तहरुबाट रेलमा चढेर आएकाहरुलाई रातौँरात नागरिकता दियौँ । हाम्रो महानता त्यसभन्दा माथि उठ्न सकेन । जसले आफूलाई नेपाल र नेपालीप्रति इमान्दारपूर्वक प्रस्तुत गरे हामीले उनीहरुलाई नेपाली स्वीकार्न र सम्मान गर्न सकेनौँ तर जसले नेपाल र नेपाली प्रति कहिल्यै गौरव गर्न र इमान्दार हुन जानेन उनीहरुका घरघरमा नागरिकता पुर्याउन जाने हाम्रा ुए क्लास अफिसरु हरु अझै मुलुकको कर्मचारीतन्त्रमा शानसँग उच्च पदस्त जीवन गुजारा गरिरहेका छन् । यसर्थ वास्तवमा भुटानबाट लखेटिएका डा। भम्पा राई प्रताप सुब्बा गंगाराम लामिटारे विद्यापति मिश्र लाखजित राई याम थुलुङ शेरु राई अगम गुरुङ ममता मोक्तान किशोर शिवाकोटी किरण रसाइली लगायतका असङ्ख्य अघिल्ला र वर्तमान पुस्ताका शरणार्थी अगुवाहरु प्रतिभाहरु र समग्रमा नेपालीपन प्रति गर्व गर्ने मानिसहरुलाई हामीले अपमान र तिरस्कार बाहेक अरु दिन सकेनौँ ।
त्यो क्षण आज पनि ताजा र उत्तिकै आनन्दमय छ जुन क्षणले वास्तवमा नेपाली हुनुमा गर्व र प्रफुल्लित तुल्याएको छ । त्यो क्षण आज पनि उत्तिकै दम्भ गर्न लागक छ जसले नेपालीपनको पक्षमा निस्वार्थ सेवा र यागदान गर्नेहरुसँग भेटाएको थियो र त्यो क्षण उत्तिकै विस्मादपूर्ण पनि लागिरहने छ जसले नेपाली मनहरुलाई फेरि कहिल्यै त्यसरी भेट्न सँगै बस्न र रमाइलो गरी नेपाली जाति भएकामा धन्य हुने अवसरबाट सँधैका लागि छुटाइरहेको थियो । म ती सम्पूर्णहरुसँगको बिछोडमा नराम्ररी बिथोलिएको र बेचैन भएको छु । तथापि के अर्थमा आशावादी छु भने बादशाहहरुले जति ओटा सीमाना लगाएर मुलुकहरु टुक्राए पनि नेपाली जातिको सम्बन्ध सृजना कला र संस्कृतिको साइनो र हामीबीचको आत्मियता सीमाना भन्दा माथि छ । राजनीति युद्ध कुटनीति र सन्धि सम्झौताहरु भन्दा माथि र शुद्ध पवित्र र निष्कलंक छ । बादशाहहरुको सीमाना त कहिले टिस्टा र काँगडा त कहिले मेची र कालीमा खुम्चिँदो रहेछ । के थाहा भोलि बादशाहहरुले कोरेको सीमाना पूर्वमा मावा खोला र पश्चिममा नारायणी नदी मात्रै पनि रहला र तर हामीले सृजना र पहिचानले कोरेको सीमाना प्रत्येक दिन विश्वकरणतर्फ लम्किएको छ । नेपालीपन र नेपाली संस्कृतिलाई माया गर्नेहरु जहाँ-जहाँसम्म पुग्छन् त्यहाँ-त्यहाँसम्म नेपालको क्षितिज फैलिएको छ । हामी सृजनाका अनुयायीहरुले बुझेको देश र नेपाल यस्तो छ जसप्रति हामीलाई निरन्तर गर्व लाग्दछ ।
शरणार्थी शिविर खुदुनाबारीबाट फर्किउ पछि लेखेको लेख ।
यो लेख August 10 मा peoples times national daily news paper मा प्रकाशित भएको छ ।
Comments
Post a Comment